Thursday, November 5, 2026

इतिहास

संस्थाको इतिहास

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल परमहंस ब्रह्मलीन श्री १०८ युगलदासजी महाराजको परिकल्पना र संस्थापक अध्यक्षतामा वि.सं. २०२३ सालमा स्थापना भएको हो। संस्था मिति २०२३।०९।०५ मा तत्कालीन बागमती अञ्चलाधीशको कार्यालयमा दर्ता भई डिल्लीबजार मन्दिरमा कार्यालय राखी सञ्चालन भएको थियो।

दर्ता र कानुनी यात्रा

  • २०३४ सालमा संस्था दर्ता ऐन–२०३४ अनुसार पुनः निरन्तरता।
  • मिति २०४७।०९।२३ मा समाज कल्याण परिषद्मा आबद्धता।
  • मिति २०६१।०९।१९ मा स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा २०६२।०४।३० मा करछुट हुने संस्थामा दर्ता।
  • पछि विधान संशोधन तथा विभिन्न कार्यविधि, नियमावली र निर्देशिका पारित गरी सञ्चालन।

छाता संस्थाको भूमिका

करिब ६० वर्ष अघि स्थापित, नेपालमा सबैभन्दा पुरानो इतिहास बोकेको यो संस्था श्रीकृष्ण प्रणामी समाजको छाता संस्थाका रूपमा देशभर सञ्चालित प्रणामी संस्थाहरूलाई एउटै संस्थागत भावनामा जोड्दै धार्मिक, सामाजिक, सांस्कृतिक तथा सेवामूलक गतिविधि अघि बढाउँदै आएको छ। श्री निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्मको प्रचार, प्रसार, विस्तार र प्रणामी समाजको हित यसको उद्देश्य हो।

संस्थापकहरूको स्मरण

संस्थाले संस्थापक अध्यक्ष ब्रह्मलीन परमहंस श्री १०८ युगलदासजी महाराज तथा ब्रह्मलीन परमहंस श्री १०८ मंगलदासजी महाराजप्रति श्रद्धा अर्पण गर्दै आएको छ। युगलदासजी महाराजको त्याग, तपस्या, दूरदृष्टि र संगठन निर्माणप्रतिको समर्पणले नै संस्थाको आधारशिला निर्माण भएको हो।

  • उहाँको स्मृतिमा निर्मित युगलपार्क, शंखमूल, काठमाडौँमा रहेको समाधिस्थलमा गुरुपूर्णिमामा गुरुपूजन गरिन्छ।
  • वार्षिक पुण्यतिथिमा सेवा समिति, बाइजुराज महिला समिति र युवा परिषद्का पदाधिकारीहरूले समाधिमा माल्यार्पण गर्छन्।
  • उहाँद्वारा स्थापित श्रीकृष्ण प्रणामी निजानन्द वृद्धाश्रम, पुल्चोक, ललितपुर आज पनि सञ्चालित छ।
  • युगलदासजी महाराजको जीवनी वृत्तचित्र पुनः सम्पादन गरी प्रसारणका लागि तयार पारिएको छ।

६० वर्षको सन्दर्भ

२०८२/०८३ मा संस्थाले आफ्नो ५९ वर्षको गौरवमय अवधि पूरा गरेको छ। आगामी वर्ष स्थापनाको ६० वर्ष पुग्ने सन्दर्भमा विविध कार्यक्रम सञ्चालन गर्ने भावी कार्ययोजना रहेको छ।

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३